नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवका अवसरमा कर्णाली प्रदेशमा विविध कार्यक्रम सम्पन्न
नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको वार्षिक स्वीकृत कार्यक्रमअनुसार “प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम तथा प्रतियोगिताहरू” मिति २०८३ वैशाख २७ गतेदेखि जेठ १ गतेसम्म वीरेन्द्रनगर, सुर्खेतमा आयोजना गरिएको थियो। मिति २०८३ जेठ १ गते नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले विभिन्न जनचेतनामूलक, सामाजिक तथा खेलकुद कार्यक्रमहरूको आयोजना गरेको थियो। कार्यक्रमअन्तर्गत वैशाख २७ गते मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरिएको थियो। प्रतियोगितामा पुरुषतर्फ २२ टिम र महिलातर्फ १३ टिमको सहभागिता रहेको थियो। वीरेन्द्रनगर नगरपालिका–८ स्थित कभर्ड हलमा सम्पन्न उक्त प्रतियोगितामा पुरुष डबलतर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रथम, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड द्वितीय तथा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तृतीय भएका थिए। महिला डबलतर्फ एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रथम, सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड द्वितीय तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेड तृतीय भएका थिए।
यसैगरी, आम नागरिकमा बीमाप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले मिति २०८३ वैशाख ३० गते बिहान ६:०० बजे वीरेन्द्रनगरस्थित बाङ्गेसिमल तथा दिउँसो ४:०० बजे सुब्बाकुनाबाट आवतजावत गर्ने सवारी साधनहरूमा बीमा सम्बन्धी सचेतनामूलक स्टिकर टाँस्ने कार्यक्रम सम्पन्न गरिएको थियो।
वार्षिकोत्सव कार्यक्रमअन्तर्गत वैशाख ३१ गते बिहान ७:३० बजेदेखि वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। नेपाल रेडक्रस सोसाइटीको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा ५० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो भने ३१ पिन्ट रगत संकलन गरिएको थियो।
यसै अवसरमा वैशाख ३१ गते वीरेन्द्रनगर–३ स्थित प्रशान्ति वृद्धाश्रम केन्द्रमा रहेका करिब २५ जना ज्येष्ठ नागरिकहरूलाई एक छाक भोजनको व्यवस्था समेत गरिएको थियो।
मिति २०८३ जेठ १ गते बिहान ७:०० बजे प्राधिकरणको कर्णाली प्रदेश कार्यालयद्वारा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो। वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको प्रभातफेरी वीरेन्द्र चोक र घण्टाघर हुँदै प्राधिकरणको कार्यालय परिसरमा पुगेर सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूले बीमा सम्बन्धी जनचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरेका थिए। प्रभातफेरी कार्यक्रममा प्राधिकरणका कर्मचारी, कर्णाली प्रदेशमा कार्यरत बीमकका कर्मचारी, सर्भेयर, अभिकर्ता तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रभातफेरीपश्चात प्राधिकरणको कर्णाली प्रदेश कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननीय यामलाल कडेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमका विशेष अतिथि तथा कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मीकुमार वि.क.ले प्रदेश सरकारले सञ्चालनमा ल्याएको घर बीमा तथा दुर्घटना बीमा कार्यक्रमबारे जानकारी दिँदै बीमा दाबी भुक्तानी प्रक्रियालाई अझ सरल र सहज बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले नेपाल बीमा प्राधिकरणले आगामी दिनमा आफ्नो नियामकीय भूमिका अझ प्रभावकारी रूपमा निर्वाह गर्दै जान सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कडेलले बीमाको पहुँच सहरकेन्द्रित मात्र नभई ग्रामीण क्षेत्रमा समेत विस्तार हुनुपर्नेमा जोड दिनुभयो। उहाँले बीमालाई विपद्को साथीको रूपमा बुझ्ने नागरिकको संख्या बढ्दै गएको उल्लेख गर्दै अझ प्रभावकारी पहुँच विस्तारका लागि बीमा क्षेत्रका सम्पूर्ण निकायले समन्वयात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो। उच्च जोखिमयुक्त क्षेत्रमा बीमा सेवा विस्तार तथा प्रवर्द्धनका लागि प्रदेश सरकारको आवश्यक समन्वय रहने विश्वास समेत व्यक्त गर्नुभयो।
वार्षिकोत्सव कार्यक्रमको सभाध्यक्षता प्राधिकरणका कर्णाली प्रदेश कार्यालय प्रमुख निलप्रसाद लामिछानेले गर्नुभएको थियो। उहाँले नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवले “बीमालाई विपत्तिको सारथी” भन्ने अवधारणालाई अझ सशक्त बनाउँदै विपत्ति पश्चातको पुनर्निर्माणलाई बीमा प्रणालीमार्फत छिटो, प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विपत्तिले निम्त्याएको गरिबी अत्यन्त पीडादायी हुने उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि बीमा प्रभावकारी माध्यम रहेको बताउनुभयो। साथै, पिछडिएका समुदायको जीवनस्तर उकास्ने सारथीका रूपमा बीमालाई स्थापित गर्न सबै पक्ष एकताबद्ध भएर कार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
यसैबीच, नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयद्वारा आयोजित निबन्ध प्रतियोगितामा क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुभएका मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ग्रायाजुएट स्कुल अफ ल का छात्र प्रकाश कोइराला, ग्रायाजुएट स्कुल अफ इन्जिनियरिङकी छात्रा ईशा ऐर तथा ग्रायाजुएट स्कुल अफ लका छात्र किशोर थापालाई क्रमशः रु. १५,०००/-, रु. १०,०००/- र रु. ५,०००/- (करसहित) पुरस्कार प्रदान गर्नुका साथै प्रमाणपत्र वितरण गरिएको थियो। साथै, वार्षिकोत्सवका अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिताका विजयी खेलाडीहरूलाई मेडल, ट्रफी तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो। कार्यक्रममा अतिथिहरूलाई स्मृति चिन्हद्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य प्राधिकरणका सहायक निर्देशक भीमबहादुर माझीले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सहायक निर्देशक विपना पन्थीले गर्नुभएको थियो। कार्यक्रममा २०० भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो ।