News and Events

News and Events Details

news-img

महिला समूहसँग बीमा सम्बन्धी छलफल तथा अन्‍तरक्रिया कार्यक्रम

२०८३ जेठ ०७ गते, बिहीबार । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयद्वारा सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (WAM), सुर्खेतसँग समन्वय गरी महिलाहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका कार्यलय प्रमुख निलप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा WAM का अध्यक्ष देवी पौडेल, WAM का कार्यक्रम संयोजक हिक्मत नेपाली, WAM का अन्य कर्मचारीहरू सहित विभिन्न महिला संस्थाका सदस्यहरू गरी करीब ५५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक विपना पन्थीले नेपाल बीमा प्राधिकरणको परिचय, प्राधिकरणको काम कर्तव्य र अधिकार, बीमाको परिचय र महत्व, बीमाका प्रकारहरू, बीमाका सिद्धान्तहरू, नेपालको वित्तिय प्रणालीमा बीमाको महत्व लगायतका विषयहरू समेटेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले घर बीमा, जीवन बीमा, कृषि बीमासँग सम्बन्धित जिज्ञासाहरु राख्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य दिदै WAM का अध्यक्ष देवी पौडलले बीमा सम्बन्धी कार्यक्रम धेरै महत्वपूर्ण भएकोले सहकार्यको लागि प्राधिकरणलाई धन्यवाद दिदै आउने दिनहरूमा पनि सहकार्यको लागि आफ्नो संस्था र आफु सधै तयार रहेको बताउनुभएको थियो । छलफल तथा अन्तरक्रियामा उठेका प्रश्न तथा जिज्ञासाहरुको सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख निलप्रसाद लामिछानेले कृषि बीमा, घर बीमा गर्दा ध्यानदिनुपर्ने कुराहरू, बीमालेख खरिद गर्दा अपनाउनुपर्ने कुराहरूको साथै दाबी भुक्तानीको सम्बन्धमा कुनै गुनासो भए प्राधिकरणमा निवेदन दिन सकिने कुरालाई पनि सहभागीहरू समक्ष प्रष्ट पार्दै उहाँले दुर-दराजसम्म बीमा सम्बन्धी सचेतना अभिवृद्धिका लागि महिलाहरूको भूमिका निकै महत्त्वपूर्ण हुने बताउनुभएको थियो ।