News and Events

News and Events Details

news-img

लेकवेशी नगरपालिकासँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।

२०८२ चैत्र १९ गते, बिहिबार। नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयद्वारा लेकवेशी नगरपालिकासँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम नगरपालिकाका मेयर उमेश कुमार पौडेलको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत महेन्द्र कुमार शर्माको आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा लेकवेशी नगरपालिकाअन्तर्गतका वडा अध्यक्ष, कार्यपालिका सदस्य, पालिकाका कर्मचारी तथा स्थानीयवासीहरू गरी करिब ६५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख निलप्रसाद लामिछानेले कर्णाली प्रदेशमा रहेको जोखिमको अवस्था, दुर्घटना तथा प्राकृतिक प्रकोपबाट प्रत्येक वर्ष व्यहोर्नुपर्ने क्षति, विपद् तथा जोखिम व्यवस्थापनमा स्थानीय तहले अपनाउनुपर्ने प्रक्रिया, विपद् व्यवस्थापनलाई उद्धार कार्यमा मात्र सीमित नराखी विकास सँग जोड्नुपर्ने आवश्यकता तथा विपद् पश्चात पुनर्निर्माणमा बीमा क्षेत्रको भूमिकाबारे प्रस्तुतीकरण दिनुभएको थियो । प्रस्तुतीकरणका क्रममा उहाँले नेपालमा उपलब्ध महत्वपूर्ण बीमालेखहरू, बीमा दर, बीमालेख खरिद गर्दा अपनाउनुपर्ने प्रक्रिया तथा दाबी भुक्तानी प्रक्रियाबारे समेत जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहभागीहरूले घर बीमाप्रति विशेष चासो देखाउँदै विस्तृत जानकारी तथा कर्णाली प्रदेशमा सञ्चालन भइरहेको घर बीमा कार्यक्रमबारे जिज्ञासा राखेका थिए। कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले बीमा अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै बीमा साक्षरता अभिवृद्धि गरी उपयुक्त बीमा योजनामार्फत स्थानीय नागरिकलाई लाभान्वित गराउन पालिकाले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो । त्यस्तै, प्रमुख अतिथि तथा नगरप्रमुख पौडेलले विपद्को अवस्थामा पालिकाले प्रदान गर्ने सहयोग सीमित हुने भएकाले स्थानीयलाई बीमामा आबद्ध गराउन पालिका तथा वडाका जनप्रतिनिधिहरू ‘एम्बेसेडर’को रूपमा सक्रिय भई जोखिम व्यवस्थापनमा बीमालाई जोड्ने कार्य अगाडि बढाइने धारणा व्यक्त गर्नुभयो । उहाँले बीमालाई लगानीको प्रतिफलका रूपमा मात्र नभई जोखिम हस्तान्तरणको प्रभावकारी माध्यमका रूपमा बुझ्न आग्रह गर्नुभयो । प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख निलप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सहायक निर्देशक विपना पन्थी तथा सहायक प्रथम विश्वराज भट्टराईको समेत सहभागिता रहको थियो ।