News and Events

News and Events Details

news-img

Global Money Week 2026

Global Money Week - 2026 को अवसरमा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले सुर्खेतका विभिन्न क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम २०८२ चैत्र ३ गते मंगलबार वीरेन्द्रनगरस्थित शुभ होटलमा आयोजना गरिएको थियो। Organization for Economic Cooperation and Development (OECD) द्वारा सन् २०१२ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको यस अभियानअन्तर्गत यस वर्ष मार्च १६ देखि २२, २०२६ चैत २ देखि ८ सम्म Smart Money Talks भन्ने नारासहित Global Money Week - 2026 को १४औँ संस्करण मनाइँदै छ। सोही सन्दर्भमा उक्त कार्यक्रम आयोजना गरिएको हो। युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमको अध्यक्षता प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख निलप्रसाद लामिछानेले गर्नुभएको थियो । कार्यक्रममा Global Money Week परिचय तथा इतिहास, युवामा वित्तीय साक्षरताको महत्व, विद्यार्थीका लागि उपयुक्त बचत तथा लगानीका माध्यम, वित्तीय व्यवस्थापनसम्बन्धी उपयोगी सुझाव, बीमाको आधारभूत अवधारणा, बीमाका प्रकार, आवश्यकता तथा महत्व, नेपाल बीमा प्राधिकरणको परिचय र उद्देश्य तथा नेपालको बीमा क्षेत्रको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरिएको थियो। प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख उपनिर्देशक निलप्रसाद लामिछानेले बीमा सम्बन्धी कानुनी व्यवस्था तथा महत्वपूर्ण बीमालेखहरूबारे विस्तृत जानकारी दिँदै क्षतिको अवस्थामा वित्तीय सुरक्षा सुनिश्चित गर्न बीमा प्रभावकारी माध्यम भएकोमा जोड दिनुभयो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले कर्णाली प्रदेशमा जनसंख्याको अनुपातमा बीमाको पहुँच कम हुनुका कारण, घर बीमा तथा स्वास्थ्य बीमा लगायतका विषयमा जिज्ञासा राखेका थिए। ती प्रश्नहरूको जवाफ दिँदै प्रमुख लामिछानेले वित्तीय ज्ञानले व्यक्तिलाई सीप, सकारात्मक मनोवृत्ति तथा व्यवहारिक क्षमता विकास गर्न सहयोग गर्ने उल्लेख गर्दै विवेकपूर्ण रूपमा वित्तीय स्रोत परिचालन गर्न सुझाव दिनुभयो । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत विभिन्न संकाय, अमरदीप क्याम्पस, सहारा क्याम्पस तथा सुर्खेत बहुमुखी क्याम्पसमा अध्ययनरत करिब १०० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।