श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालय नगौल जीतपुरसंग बीमा सचेतना सम्बन्धी छलफल तथा अन्तर्क्रिय कार्यक्रम
नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयको आयोजनामा जीतपुर सिमरा उप महानगरपालिका-७, जीतपुर बारा स्थित श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालय नगौल जीतपुरका शिक्षक तथा विद्यार्थीहरुसंग बीमा सचेतना अभिवृद्धि सम्बन्धी कार्यक्रम मिति २०८२/०५/१८ गते सम्पन्न भयो ।
श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री राजु कुमार सिंहज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयमा प्रमुख श्री शिब प्रसाद खनालले गर्नुभएको थियो । कार्यक्रममा शिक्षक तथा विध्यार्थीहरु विच प्राधिकरणको तर्फबाट बीमा सम्बन्धी गतिविधि समेटिएको जानकारीमूलक प्रस्तुतीकरण प्रस्तुत गरिएको थियो । बीमा के हो ? यसको आवस्यकता र महत्व किन रहेको छ ? बीमा गर्दा के कस्ता विषयमा ध्यान दिनुपर्दछ ? बीमा अभिकर्ता सम्बन्धी व्यवस्था एवं विभिन्न किसिमका बीमालेखका विशेषता तथा बीमा सम्बन्धी गुनासो तथा उजुरी प्रकृयामा सम्बन्धमा संक्षेपमा जानकारी प्रदान गरिएको थियो ।
प्रस्तुतीकरण पश्चात शिक्षक तथा विध्यार्थीहरुबाट कृषि पशुधन तथा बालीनाली बीमालेखका विशेषता, बीमा दावी सम्बन्धी कानूनी व्यवस्था तथा बीमाबारे समाजमा व्याप्त नकारात्मक धारणाका बारेमा जिज्ञाशा राख्नुभएको थियो भने उक्त जिज्ञासाहरुको सम्बोधन गर्दै प्राधिकरण मधेश प्रदेशका कार्यालय प्रमुख शिब प्रसाद खनालले ग्रामीण तथा निम्न आय स्तर भएका वर्ग समुदायसम्म बीमाबारे सचेतना अभिवृद्धि गर्दै यसको आवस्यकता तथा महत्वका विषयमा आम नागरिकसम्म जानकारी पुर्याउन प्राधिकरणबाट निरन्तर यस्ता कार्यक्रमहरु भईरहेको जानकारी दिनुभयो । साथै, कृषि तथा पशुधन बीमालेखहरुमा राज्यले बीमाशुल्क अनुदानको व्यवस्था गरेको भएतापनि यसबाट आम कृषकहरुले उपयोगबारे अनभिज्ञ रहेकोले यस्ता कार्यक्रमबाट सचेतना अभिवृद्धि गरिरहेको बताउनुभयो । बीमा दावी सम्बन्धी उजुरी उपर प्राधिकरणलाई निर्णय गर्न अधिकार रहेको तथा आफ्नो घर परिवार तथा गाउँ समाजमा यसबारे जानकारी दिन समेत कार्यक्रमले सघाउ पुर्याउने बताउदै विद्यालयलाई आफ्नो भवन तथा भौतिक सम्पत्ति एवं शिक्षक तथा विध्यार्थीहरुको लागि सामुहिक दुर्घटना बीमालेखहरुबाट जोखिम रक्षावरण गर्न सुझाउनुभयो ।
कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै प्रमुख अतिथि तथा विद्यालयका प्राधानाध्यापक श्री राजु कुमार सिंहले विद्यालयमा बीमा सम्बन्धी कार्यक्रम पहिलो पटक आयोजना भएको र यसबाट आफु लगायत सम्पूर्ण विध्यार्थीहरुलाई यस सम्बन्धमा जानकारी प्राप्त भएको बताउनुभयो । साथै बीमा सम्बन्धी जिज्ञासालाई सहज रुपमा बुझ्न पाउँदा निकै खुसी लागेको बताउदै यस्तो सचेतना कार्यक्रम अन्य ग्रामीण क्षेत्रमा समेत आवस्यक रहेको सुझाउनुभयो ।
कार्यक्रममा विद्यालयको शिक्षक परिवार तथा उच्च माद्यामिक तहमा अध्ययनरत विध्यार्थीहरु सहित करिब ९५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक निर्देशक श्री महेश मण्डलले गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन सहायक प्रथम श्री दिपेन्द्र दासले गर्नुभएको थियो ।