प्रदेश प्रमुखहरुसंग नेपाल बीमा प्राधिकरण छलफल तथा अन्तरक्रिया कार्यक्रम आदर्शनगर, विरगंज
नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा प्राधिकरणको आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार मिति २०८२/०८/२८ गते बीरगञ्जमा निर्जीवन बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूसँग कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
२) कार्यक्रमको विवरण
मिति २०८२ साल मंसिर २८ गते नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयमा बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूसँग बीमासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरणको कृषि तथा पशुपन्छी बीमालेख शाखा प्रमुख श्री निशा घिमिरेज्यूको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा मधेश प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको हालको अवस्था, बीमा विस्तारको सम्भावना, कार्यान्वयनमा देखिएका समस्या तथा बीमकहरूले व्यवसायमा भोगिरहेका चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो। साथै, बीमा पहुँच वृद्धि, जोखिम व्यवस्थापन तथा सेवा प्रभावकारी बनाउने उपायहरूबारे सहभागीहरूबीच विचार–विमर्श गरिएको थियो।
३)अन्तरक्रिया कार्यक्रममा उठेका मुख्य प्रश्न तथा सुझावहरु :
ALIS (Agriculture and Livestock Insurance System) Software मार्फत कृषि तथा पशुपन्छी बीमालेखको प्रक्रिया गर्दा कृषकहरूले व्यवहारिक कठिनाइ अनुभव गर्ने विषयमा छलफल भयो। विशेष गरी, कृषि अभिकर्ताको माध्यमबाट प्रक्रिया गर्दा कृषकहरूको फोनमा प्राप्त OTP (One-Time Password) अरूसँग साझा गर्न असहज हुने समस्या देखिएको छ। OTP प्रणाली ग्रामीण भेगमा लागू गर्न चुनौतीपूर्ण रहेको तथा किसानहरुले बीमा गर्न आनाकानि गर्ने गरेको ।
अनुदान उपलब्ध गराउने प्रक्रियामा, प्रदेशको जिल्ला स्थित कृषि तथा पशुपन्छी हर्ने कार्यालयबाट प्रिमियम अनुदान भुक्तानी सिफारिस लिनुपर्ने हुँदा मधेश प्रदेशको मुलत: महोत्तरी, धनुषामा कृषि बीमाको अनुदान सिफारिस लिन व्यवहारिक रूपमा ढिलाइ र कठिनाइ हुने विषय बीमकहरूले प्रस्तुत गरेका थिए ।
साइलेज तथा सुर्ती बीमालेख तराई भेगका लागि उपयुक्त हुने भएकोले उक्त बीमालेखको अत्याधिक माग भएको हुँदा प्राधिकरण मार्फत साइलेज तथा सुर्ती बीमालेख जारी गरी प्रचलनमा ल्याउन बीमकहरुबाट आग्रह भएको ।
कृषि तथा पशुपन्छी बीमामा अनैतिक अभ्यास (unethical practices) बाट moral hazard बढेको सम्बन्धमा विस्तृत छलफल गरियो । जस्तै, फर्मका गाईलाई Urea खुवाएर दुधको मात्रा बढाउने तर केही समयमा गाई/भैसीको मृत्यु भएर गौ हत्या जस्ता आपराधिक गतिविधि बढ्नुका साथै दावी भुक्तानीका लागि किसानहरुबाट यस प्रकारको गतिविधिको निरिक्षण विषयहरु प्रस्तुत गरिएको थियो ।
Agent-based भन्दा staff-based बीमा गर्दा कर्मचारीले कम्पनीको तर्फबाट जिम्मेवारीपूर्वक विचार गरी काम गर्ने भएकाले बीमालेख जारी गर्दा अधिक उचित हुने ।
पशुपन्छी बीमालेखमा बीमाङ्क निर्धारण गर्दा प्रायः पशुधनको मूल्याङ्कन वास्तविक भन्दा बढी देखाउने प्रवृत्ति देखिन्छ, जसका कारण अभिकर्ताले बढी कमिशन प्राप्त गर्ने अवस्था सिर्जना हुन्छ।
कृषकले कृषि तथा पशुपन्छीको ऋण लिने अवस्थामा मात्र बीमा गर्ने प्रचलन भएको बताइएको छ।
ग्रामीण भेगमा अभिकर्ताले बीमा गर्न धेरै समय खर्च गर्नु पर्ने, हालको व्यवस्था अनुसार प्रोत्साहन कम हुनु, र कम्पनीमा केही अभिकर्ता Dummy Agent भएको अवस्था उल्लेख गरिएको थियो।
कृषि तथा पशुपन्छी बीमा जटिल विषय भएकोले बीमकका कर्मचारी, विशेष गरी Underwriting कर्मचारी, पर्याप्त तालिम नपाएको देखिएको छ।
हालको बाली तथा पशुधन बीमा प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधिमा भएको व्यवस्था अनुसार बीमाङ्क रकमको आधारमा अनुदान प्रतिशत निर्धारण हुने भएकाले एउटै व्यक्ति तथा संस्थाले बढी अनुदान प्राप्त गर्न टुक्रयाएर बीमा गर्ने प्रचलन अत्याधिक रहेको हुँदा सो सम्बन्धमा नियमित रुपमा निरीक्षण अनुगमन गर्नुपर्ने ।
तराई क्षेत्र उखुका लागि विशेष बाली भएको हुँदा उखु बीमाको प्रचार प्रसार तिव्र गर्नुपर्ने ।
धान, मकै तथा गहुँको बीमालाई समेत Index Based Policy जारी गर्नुपर्ने ।
कृषि बीमा अभिकर्ताको तालिम प्राधिकरणबाट समेत लिनुपर्ने ।
केही बीमकहरुले कृषि बीमा नै हालसम्म नगरेको भन्ने गुनासो प्राप्त भएको ।
कृषि तथा पशुपन्छी बीमा गर्दा अनिवार्य रुपमा प्राविधिक हुनुपर्नेमा कतिपय स्थानमा प्राविधिक नै नरहेको भन्ने गुनासो प्राप्त भएको ।
किसानहरुले KYC भर्न झन्झट मान्ने गरेको ।
अनुदान उपलब्ध गराउने प्रक्रियामा, प्रदेशको जिल्ला स्थित कृषि तथा पशुपन्छी हेर्ने कार्यालयबाट माछा पालन बीमाको सिफारिस दिन नमान्ने गरेको ।
४) कार्यक्रमको सारांश
प्राधिकरणको मधेश प्रदेश प्रमूखले मधेश प्रदेशको विभिन्न जिल्लामा कृषि तथा पशुपन्छी बीमाको विशेष गरी कृषि बीमा पँहुच अत्यन्तै कम पाइएको र विभिन्न जिल्लामा कृषि अभिकर्ताको तालिममा बीमकहरुले ध्यान केन्द्रित गर्न आवश्यक रहेको तथा कृषि तथा पशुपन्छी बीमा निर्देशिका अनुसार तालिम निरन्तर आयोजना गर्नुपर्ने निर्देशन दिएका थिए ।साथै, बीमा कम्पनीहरूको कृषि तथा पशुपन्छी बीमाको दाबी भुक्तानीमा नियम अनुसार प्रक्रिया पुराइ कृषकहरुलाई दावी भुक्तानी सहज बनाउन निर्देशन दिएका थिए ।
कार्याक्रममा प्राधिकरणका कृषि तथा पशुपन्छी बीमालेख शाखाका शाखा प्रमुख श्री निशा घिमिरे ज्यूले ALIS Software लाई सूचना प्रविधि मैत्री बनाउने निरन्तर प्रयास भइरहेको र त्यसमा आएका असहज प्रविधिलाई बीमकहरुको सुझावबाट अद्यावधिक गरिँदै आएको जानकारी दिएका थिए। त्यसैगरी प्रदेशको जिल्ला स्थित कृषि तथा पशुपन्छी हेर्ने कार्यालयबाट प्रिमियम अनुदान भुक्तानी सिफारिस सम्बन्धी समस्या रहेको र यसलाई प्राधिकरणका साथै सम्बन्धित मन्त्रालय तथा विभाग मार्फत आवश्यक सहजिकरण गर्ने सम्बन्धमा छलफल भइरहेको समेत जानकारी पनि प्रदान गरिएको थियो। सारांशमा,अन्तरक्रिया कार्यक्रममा बीमा पहुँच वृद्धि, दाबी भुक्तानी सहज बनाउने, तालिम र प्राविधिक सुधारलाई प्राथमिकता दिइने र आगामी कार्यान्वयनलाई प्रभावकारी बनाउन आवश्यक कदमहरूको छलफल गरिएको थियो।