News and Events

News and Events Details

news-img

महिला बीमा साक्षरता कार्यक्रम

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा मिति २०८२।०७।१७ गते वीरगंज स्थित मकालु होटलमा महिला समूहसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो । पोखरीया नगरपालिकाको पूर्व उपमेयर श्री सल्मा खातुन ज्यूको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख श्री आर्या रावल ज्यू ले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित महिला समूहका प्रतिनिधि तथा सरोकारवालाहरू विच प्राधिकरणको तर्फबाट बीमा सम्बन्धी गतिविधि समेटिएको जानकारीमूलक प्रस्तुतीकरण प्रस्तुत गरिएको थियो । उक्त प्रस्तुतीकरणमा बीमा प्राधिकरणको परिचय, बीमा के हो ? यसको आवश्यकता र महत्व किन रहेको छ ? बीमा गर्दा के कस्ता विषयमा ध्यान दिनुपर्दछ ? बीमा अभिकर्ता सम्बन्धी व्यवस्था एवं विभिन्न किसिमका बीमालेखका विशेषता तथा बीमा सम्बन्धी गुनासो तथा उजुरी प्रकृयाम सम्बन्धमा संक्षेपमा जानकारी प्रदान गरिएको थियो । प्रस्तुतीकरण पश्चात उपस्थित महिला समूहका प्रतिनिधि तथा सरोकारवालाहरुबाट नेपालमा शिक्षा बीमा ( Education insurance) आवश्यकता । यस्तो बीमा योजनाको सम्भावना तथा बीमा एजेन्टहरूका लागि पनि छुट्टै बीमा योजना (insurance policy for agents) ल्याउनुपर्ने सुझाव, कृषि बीमा सम्बन्धि विभिन्न जिज्ञासाहरुमा कृषि बीमा अन्तर्गत कुन कुन बालीको बीमा हुन्छ र कति अनुदान कहिले प्राप्ति हुन्छ त्यसै गरि पशुपन्छी बीमा सम्बन्धि जिज्ञासामा कुन कुन पशुपन्छीको बीमा हुन्छ र कस्ता कस्ता पशुपन्छी सम्बन्धि जोखिमको दाबी बीमाले भुक्तानी गर्छ । कृषि पशुधन तथा बालीनाली बीमालेखका विशेषता, बीमा दावी सम्बन्धी कानूनी व्यवस्था तथा बीमाबारे समाजमा व्याप्त नकारात्मक धारणाका बारेमा जिज्ञाशा राख्नुभएको थियो भने उक्त जिज्ञासाहरुको सम्बोधन गर्दै प्राधिकरण मधेश प्रदेशका कार्यालय प्रमुख श्री आर्या रावल ज्यू ले ग्रामीण तथा निम्न आय स्तर भएका वर्ग समुदायसम्म बीमाबारे सचेतना अभिवृद्धि गर्दै यसको आवश्यकता तथा महत्वका विषयमा आम नागरिकसम्म जानकारी पुर्याउन प्राधिकरणबाट निरन्तर यस्ता कार्यक्रमहरु भईरहेको जानकारी दिनुभयो । साथै, कृषि तथा पशुधन बीमालेखहरुमा राज्यले बीमाशुल्क अनुदानको व्यवस्था गरेको भएतापनि यसबाट आम कृषकहरुले उपयोग बारे अनभिज्ञ रहेकोले यस्ता कार्यक्रमबाट सचेतना अभिवृद्धि गरिरहेको बताउनुभयो । बीमा दावी सम्बन्धी उजुरी उपर प्राधिकरणलाई निर्णय गर्न अधिकार रहेको तथा आफ्नो घर परिवार तथा गाउँ समाजमा यसबारे जानकारी दिन समेत कार्यक्रमले सघाउ पुर्याउने बताउदै महिला दिदि बहिनीलाई बीमा आफु पनि गर्ने र अरुलाई पनि गर्न लगाई आर्थिक क्रियाकलापमा थप सशक्त भई जोखिम रक्षावरण गर्न सुझाउनु भयो । कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै प्रमुख अतिथि पोखरीया नगरपालिकाको पूर्व उपमेयर श्री सल्मा खातुन ज्यूले बीमा सम्बन्धी कार्यक्रमले आफु लगायत सम्पूर्ण महिला दिदि बहिनीलाई यस सम्बन्धमा जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले बीमा हामी सबैको लागि निकै आवश्यक रहेको र यस बारे सबै महिला दिदि बहिनी जानकार भई यस क्षेत्रमा सशक्त भई अघि बढ्नुपर्ने बताउनु भयो साथै बीमा सम्बन्धी जिज्ञासालाई सहज रुपमा बुझ्न पाउँदा निकै खुसी लागेको बताउदै यस्तो सचेतना कार्यक्रम अन्य ग्रामीण क्षेत्रमा समेत आवस्यक रहेको सुझाउनुभयो । कार्यक्रममा करिब २५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्राधिकरणको सहायक निर्देशक श्री सुस्मा थापा ज्यू ले गर्नु भएको थियो र कार्यक्रमको प्रारम्भमा प्राधिकरणका सहायक प्रथम श्री निकेश लाल कर्ण ज्यू ले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो भने उक्त कार्यक्रमको व्यवस्थापन सहायक निर्देशक श्री महेश मण्डल ज्यू ले गर्नुभएको थियो ।