News and Events

News and Events Details

news-img

“सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT)” सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरद्वारा “सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT)” सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम प्राधिकरणको कोशी प्रदेश कार्यालय, त्रीवेणी मार्ग, विराटनगरमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रीति देवज्यूको सभाध्यक्षता, केन्द्रीय कार्यालयका सम्पत्ति शुद्धिकरण विभाग प्रमुख श्री पदम प्रसाद सोडारीज्यूको विशेष आतिथ्य, सहायक निर्देशक श्री सचिन राई र सहायक प्रथम श्री मिलन पोख्रेलज्यूको सहभागिता रहेको थियो । कार्यक्रममा कोशी प्रदेशअन्तर्गतका विभिन्न जीवन बीमा कम्पनीका शाखा प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा श्री सोडारीज्यूले “सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण” सम्बन्धी विषयमा विस्तृत प्रस्तुति दिनुभयो । उहाँले सम्पत्ति शुद्धिकरण भनेको अवैध स्रोतबाट आर्जित रकमलाई वैधानिक देखाउने प्रक्रिया भएको स्पष्ट पार्दै बीमा कम्पनीहरूले यस विषयमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । AML/CFT निर्देशिका २०८२ का प्रमुख बुँदाहरू प्रस्तुत गर्दै उहाँले बीमा कम्पनीहरूले KYC विवरण अद्यावधिक गर्नुपर्ने, ठूलो रकमका दाबीमा Enhanced Due Diligence अनिवार्य गर्नुपर्ने र goAML प्रणालीमार्फत STR र TTR रिपोर्ट समयमै पठाउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार नेपाल हाल FATF को ग्रे लिष्टमा रहेको र AML कार्यान्वयनमा सुधार ल्याउन नियामक निकाय र बीमा कम्पनीहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको दोस्रो चरणमा सहभागीहरूले AML/CFT कार्यान्वयनका क्रममा देखिएका चुनौती र व्यवहारिक समस्या सम्बन्धी प्रश्नहरू राखेका थिए भने प्राधिकरणका प्रतिनिधिहरूले सोधिएका प्रश्नहरूको समाधानसहित स्पष्ट जवाफ दिएका थिए । अन्त्यमा कार्यालय प्रमुख श्री प्रीति देवज्यूले धन्यवाद ज्ञापन गर्दै AML/CFT कार्यान्वयनले बीमा क्षेत्रको पारदर्शिता र विश्वसनीयता बढाउने बताउँदै, सबै सरोकारवालाबीच सहकार्य र जिम्मेवारीपूर्ण कार्यशैलीले मात्र दिगो वित्तीय प्रणाली निर्माण सम्भव हुनेमा जोड दिनुभयो। कार्यक्रमले सहभागीहरूबीच AML/CFT सम्बन्धी कानुनी, प्राविधिक र व्यवहारिक ज्ञान अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुर्‍याएको छ । सहभागीहरूले AML/CFT निर्देशिका २०८२ को प्रभावकारी कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गर्दै यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् । नेपाल बीमा प्राधिकरणले AML/CFT कार्यान्वयनलाई अझ प्रभावकारी र व्यवहारिक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।