News and Events

News and Events Details

news-img

महिला समूहसँग बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनगढी, कैलाली । नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा गोदावरी नगरपालिका -९, कैलालीमा महिला समूह लक्षित बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।सगुन स्वास्थ्य महिला समूह, सरस्वती स्वास्थ्य महिला समूह र लक्ष्मी स्वास्थ्य महिला समूहको समन्वयमा २०८३ असोज १३ गते आयोजित कार्यक्रममा करिब ५० जना महिलाको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख निर्मला मल्लले बीमाको महत्व, बीमा सेवा तथा दाबी प्रक्रिया, जोखिम न्यूनीकरण, वित्तीय साक्षरता र माइक्रो इन्स्योरेन्स लगायत विषयमा सहजीकरण गर्नुभएको थियो।कार्यक्रममा सहभागी महिलाहरूले जीवन बीमाको दाबी प्रक्रिया, किस्ता भुक्तानीमा समस्या भएमा हुने व्यवस्था, ज्येष्ठ नागरिकको बीमा, कृषि बीमा तथा माइक्रो इन्स्योरेन्स सम्बन्धी जिज्ञासा राखेका थिए। साथै, महिला समूहमा आबद्ध तथा समूह बाहिर रहेका महिलाको सामूहिक बीमा गर्न सकिने/नसकिने विषयमा समेत जानकारी माग गरिएको थियो।अन्तरक्रियाका क्रममा सहभागीमध्ये केहीले जीवन बीमा गरे पनि कृषि बीमा नगरेको जानकारी दिएका थिए। बीमा योजनाबारे पर्याप्त जानकारीको अभावका कारण बीमा प्रति अझै पनि भ्रम तथा अन्योल रहेको सहभागीहरूको धारणा थियो। कार्यक्रमले महिलाहरूमा बीमा सम्बन्धी ज्ञान, वित्तीय सचेतना तथा जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि गर्दै बीमाको पहुँच विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।