News and Events

News and Events Details

news-img

जीवन बीमा अभिकर्ताहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न विराटनगर, असोज २६, २०८२

जीवन बीमा अभिकर्ताहरूबीच बीमा सचेतना अभिवृद्धि र सम्पत्ति शुद्धिकरण सम्बन्धी जानकारी विस्तार गर्ने उद्देश्यका साथ नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरद्वारा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम होटल रुबिज, विराटनगरमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख श्री प्रीति देवज्यूको सभाध्यक्षता तथा केन्द्रीय कार्यालयका सम्पत्ति शुद्धिकरण विभाग प्रमुख श्री पदम प्रसाद सोडारीज्यूको प्रमुख आतिथ्य रहेको थियो । सो अवसरमा कार्यक्रमको सञ्चालन सहायक प्रथम श्री मिलन पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा बीमा अभिकर्ताहरूसँग कानूनी, प्राविधिक र नैतिक पक्षका विषयमा विस्तृत छलफल गरिएको थियो। श्री सोडारीज्यूले सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी विषयमा अभिमुखीकरण प्रस्तुति दिनुहुँदै बीमा क्षेत्रमा देखापर्ने जोखिम र सावधानीका उपायहरूबारे जानकारी गराउनुभयो। कार्यक्रममा सहभागी अभिकर्ताहरूले बीमा क्षेत्रमा देखिएका विभिन्न समस्या, चुनौती र सुधारका उपायबारे प्रश्न राखी सुझावहरू दिनुभएको थियो । विशेषगरी बीमाको दावी (Claim) प्रक्रिया ढिलो हुनु, अभिकर्ताको अधिकार र सुविधा अभाव, इजाजतपत्र नवीकरणको झन्झट, र पेशागत सम्मान अभाव जस्ता विषयहरू प्रमुख रूपमा उठाइएका थिए । कार्यक्रमको समापन सत्रमा सभाध्यक्ष प्रीति देवज्यूले बीमा क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी सेवा प्रवाहमा सबैको सहकार्य अपरिहार्य रहेको बताउँदै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस्ता कार्यक्रमहरूले बीमा क्षेत्रमा जनविश्वास अभिवृद्धि गर्न र सम्पत्ति शुद्धिकरणसम्बन्धी सचेतना विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रमले जीवन बीमा अभिकर्ताहरूमा कानूनी सचेतना, उत्तरदायित्व र पेशागत अनुशासनको समझ बढाएको छ। सहभागीहरूले यस्ता अन्तरक्रिया कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने माग समेत गरेका छन्। नेपाल बीमा प्राधिकरणले आगामी दिनमा पनि बीमा अभिकर्ता सशक्तिकरण, बीमा साक्षरता र AML/CFT सचेतना अभिवृद्धि सम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।