Email: info@nia.gov.np
Contact No:  +977-1-5421079, 5428604
Location:  Lalitpur-10, Kupondole,Nepal
Stay Connected On
05 Jul 23

Asian Insurance Meet, 2023

बीमा क्षेत्रमा सबल जोखिम व्यवस्थापन ढाँचा विकास गर्नु आवश्यक छ: अर्थमन्त्री डा. महत

नेपाल बीमा प्राधिकरणद्वारा काठमाडौंमा आयोजित ‘एसियाली बीमा सम्मेलन, २०२३’ (Asian Insurance Meet, 2023) यही २०८० साल जेठ २७ गते सम्पन्न भएको छ ।’Building Resilience of Insurance towards Emerging Risk’ मूल विषय रहेको सम्मेलन यही २०८० साल जेठ २५ गतेदेखि २७ गतेसम्म काठमाडौंमा भएको थियो ।
माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौंमा जेठ २६ गते एसियाली बीमा सम्मेलन, २०२३ समुद्घाटन गर्नुहुँदै दिगो विकासको लक्ष्यलाई सुनिश्चित गर्नका लागि बीमा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभयो ।
अर्थमन्त्री डा. महतले प्राकृतिक प्रकोप, आर्थिक उतारचढाव, महामारी, साइवर चुनौती लगायतका नयाँ नयाँ जोखिमहरूले बीमा क्षेत्रमा मात्र चुनौतीहरू सिर्जना गरेको नभई व्यक्तिगत, सामाजिक र व्यवसायिक सुरक्षामा समेत प्रभाव पारेको उल्लेख गर्नुहुँदै त्यस्ता जोखिमहरूलाई सम्बोधन गर्नका लागि नियामक निकायहरू आपसी सद्भाव अभिवृद्धि, उत्कृष्ट अभ्यासको आदानप्रदान र सामूहिक सिकाईका अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अर्थमन्त्री डा. महतले जोखिमहरू न्यूनीकरणका सन्दर्भमा नियामक निकाय, बीमक, पुनर्बीमक र बीमा ब्रोकरहरूले सबल जोखिम व्यवस्थापन ढाँचा विकास गर्नुपर्ने, नियमन संयन्त्रलाई सुदृढ बनाउनुपर्ने र नवीन संस्कृतिको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।
अर्थमन्त्री डा. महतले बीमक र पुनर्बीमक बीमा क्षेत्रका मेरूदण्ड भएकाले बीमक र पुनर्बीमकको जोखिम व्यवस्थापन अभ्यास र जोखिमाङ्कन क्षमतालाई सुदृढ बनाउनुपर्ने बताउनुभयो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल सरकारले वित्तीय नीतिमा बीमालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्नुहुँदै सरकारले कृषिबीमाको प्रवद्र्धन, लघुबीमालाई प्रोत्साहन र बीमाको पहुँच वृद्धिका लागि समावेशी बीमा जस्ता नविनतम् नीतिहरू कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।
अध्यक्ष सिलवालले बीमा क्षेत्रमा नवीनतम् प्रविधिको प्रयोग, बीमितको संरक्षण, बजारमा स्वच्छ अभ्यासको प्रवद्र्धन र बीमाको पहुँच वृद्धि गर्ने किसिमले जोखिम व्यवस्थापन रणनीतिहरू सहितको प्रभावकारी ढाँचा विकास आवश्यक रहेको बताउनुभयो ।
सम्मेलनको पहिलो दिन, जेठ २५ गतेको सत्रमा विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरूको सहभागिता रहेको थियो । यस सत्रमा, नेपाली बीमा क्षेत्र तथा नियामकीय ढाँचा, च्ष्कप द्यबकभम क्यखिभलअथ को कार्यान्वयन, जोखिममा आधारित पूँजीगत ढाँचा, बीमा क्षेत्रमा नवीनतम् डिजिटल प्रविधिको प्रयोग र बीमा व्यवसायको विकासका लागि नियामक निकायहरूको क्षमता अभिवृद्धि सम्बन्धी कार्यपत्रहरूको प्रस्तुतीकरण र छलफल एवम् अन्तरक्रिया भएका थिए ।
यसैगरी, सम्मेलनको दोस्रो र तेस्रो दिनका सत्रमा जलवायु परिवर्तनका चुनौती र बीमा क्षेत्रको भविष्य, जलवायु परिवर्तनको जोखिमका सन्दर्भमा नियामक निकाय, बीमक र पुनर्बीमकको भूमिका, जलवायु परिवर्तनबाट सिर्जित अवसर, भूकम्प बीमाका सम्बन्धमा एसियाको अनुभव तथा कृषिबीमाको विकास र अभ्यास, जीवन बीमा व्यवसायका अभ्यास, अवसर र चुनौती, लैङ्गिक समावेशिता, जोखिममा आधारित नियमन ढाँचा लगायतका विषयमा कार्यपत्रहरू प्रस्तुती, छलफल एवम् अन्तरक्रियाहरू भएका थिए ।