Email: info@nia.gov.np
Contact No:  +977-1-5421079, 5428604
Location:  Lalitpur-10, Kupondole,Nepal
Stay Connected On
07 Apr 23

आर्थिक सहायता, चन्दा जस्ता खर्च बन्द गरेर सबैको बीमा गर्न अध्यक्ष सिलवालको आग्रह

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकलाई बीमाका बारेमा बुझाउन र सेवासँग आवद्ध गरेर सबैलाई बीमाको दायरामा ल्याउन स्थानीय तहसँग आग्रह गर्नुभएको छ ।
नेपाल बीमा प्राधिकरणबाट मधेश प्रदेशको बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा यही २०७९ साल चैत २१ गते आयोजित बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले स्थानीय तहले आर्थिक सहायता, चन्दा जस्ता खर्च बन्द गरेर सबैको बीमा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अध्यक्ष सिलवालले साना बीमा दाबी भुक्तानीका सम्बन्धमा प्राधिकरणले स्पष्ट निर्देशन दिइसकेकाले अब बीमा कम्पनीहरूबाट दाबी भुक्तानी छिटो हुने उल्लेख गर्नुहुँदै दाबी भुक्तानी समयमा नै नगर्ने कम्पनीहरू बजारमा टिक्न नसक्ने बताउनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले बीमा कम्पनीहरूले कृषकका आवश्यकता अनुसारका बीमालेखहरू ल्याउनुपर्ने र कृषकका घरगोठ तथा खेतबारीमा पुगेर बीमा गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्रमुख पौडेलले स्थानीय तहले संचालन गर्ने योजनाहरूमा बीमालाई कसरी जोड्न सकिन्छ भन्ने सम्बन्धमा छलफल गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाका बारेमा बुझाएर सक्नेलाई बीमा गर्न प्रोत्साहन गर्ने र नसक्नेको बीमा गरेर बीमाको दायरा बढाउन सके विपद्का बेला क्षतिपूर्ति एवम् राहतका लागि स्थानीय तहलाई थप आर्थिक भार नपर्ने बताउनुभयो ।
नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमाको परिचय, महत्व, दाबी भुक्तानी प्रक्रिया, बीमाको दायरा विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषयमा प्रस्तुती गर्नुभयो ।
जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद शर्माले बीमाबाट उद्योग व्यवसायको जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण हुने भएकाले सबैलाई बीमा गर्न आग्रह गर्नुभयो । साथै, उहाँले बीमा गर्ने व्यक्तिले भन्दा बीमा गराउने व्यक्तिले बढी लाभ लिने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेल र सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुरूप बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउनुका साथै बीमा सेवा विस्तारमा जोड दिँदै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरूले बजार मूल्य अनुसार पशुको बीमा गर्न नपाएको, बीमा दाबी भुक्तानी समयमा नपाएको, मोटर बीमाको न्यून दाबी भुक्तानी पाउने गरेको, जग्गाधनीले नभई जग्गा भाडामा लिएर खेती गर्नेले बीमा रकम पाउनुपर्ने माग सम्बोधन नभएको लगायतका धारणा राख्नुभएको थियो ।
नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले संचालन गर्नुभएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य र कर्मचारीहरू, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख, उद्योगी व्यवसायीमहरू लगायतको सहभागिता रहेको थियो ।