Email: info@nia.gov.np
Contact No:  +977-1-5421079, 5428604
Location:  Lalitpur-10, Kupondole,Nepal
Stay Connected On
17 May 23

नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सव

सरकारले बीमा क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको छ : अर्थमन्त्री डा. महत
माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवका अवसरमा यही २०८० साल जेठ १ गते काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले व्यवसायिक मोडलका साथ स्वतन्त्ररुपले नियामकीय भूमिका निर्वाह गर्न नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिनुभयो ।
अर्थमन्त्री डा. महतले भन्नुभयो, “नियामकीय निकायले व्यवसायिक हैसियत देखाउन सकेको छ कि छैन ? हेर्नुप¥यो । देशमा कति बीमा कम्पनी आवश्यक छ ? कतिले दीगोरुपमा नागरिकको आवश्यकता धान्न सक्छन् ? बीमा गर्नेले प्रतिफल खोज्ने भएकाले बीमा कम्पनीको हैसियत भोलि के हुन्छ ? बीमा दाबी नतिरेर कम्पनी गायव भए के हुन्छ ? यस तर्फ नियामक निकायले ध्यानदिनु पर्छ ।”
स्वस्थ प्रतिस्पर्धाका साथ बीमितहरुको सुरक्षा गर्ने गरी चल्न बीमा कम्पनीहरुलाई निर्देशन दिनुहुँदै अर्थमन्त्री डा. महतले भन्नुभयो, “सरकारी तथा गैरसरकारी संस्थाहरु पारदर्शिता, जवाफदेहिता र जिम्मेवारीबोधका साथ चल्नुपर्छ, बीमाको पहुँच विस्तारका लागि दक्षताका साथ काम गर्नुपर्छ, बीमाको लागत घट्नुपर्छ, बीमाको दायरा बढ्नुपर्छ । समग्र वित्तीय क्षेत्रमा सुधारको आवश्यकता भएकाले सोही अनुसार अघि बढ्नुपर्छ । सामाजिक सुरक्षालाई बीमाको छातामुनी ल्याउन नीतिगत सुधार आवश्यक छ ।”
अर्थमन्त्री डा. महतले सबै निकायहरुले तामझामका साथ वार्षिकोत्सव मनाउनुभन्दा वर्षभरी के के काम गर्न सक्यौं, के के गर्न सकेनौं र के कस्ता कमजोरी रह्यो ? त्यसको समीक्षा गरेर अग्रगामी सोचका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
माननीय महालेखापरीक्षक टङ्कमणि शर्माले नियमनकारी निकायहरुले प्रभावकारी भूमिका निर्वाह गरेमा अर्थतन्त्रका समस्याहरु धेरै हदसम्म निराकरण हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्र राष्ट्रिय दोस्रो रणनीति स्वीकृतिको चरणमा रहेको र त्यसमा नेपाल बीमा प्राधिकरणबाट प्राप्त सुझावहरुलाई समेत समेटिएको जानकारी दिनुभयो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले स्थानीय तहले आफ्ना आर्थिक सहायताको मान्यतालाई परिवर्तन गरी सीमान्तकृत र गरीव परिवारको बीमा गरिदिने हो भने त्यसबाट गरीबी न्यूनीकरणको रणनीतिमा समेत महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
अध्यक्ष सिलवालले भन्नुभयो, “वितेका दुई वर्षको अवधिमा बीमाका बारेमा धेरैले जानकारी पाएका छन्, अब बीमाको पहुँच विस्तारमा लाग्नुपर्छ । परम्परागत बीमालेखमा भर पर्नुहुँदैन, नागरिकले परिवर्तन खोजेका छन्, सोही अनुसार बीमा बीमालेख ल्याउनुपर्छ । सरकारले सबै आर्थिक जोखिम लिनसक्दैन, बीमा मार्फत आर्थिक जोखिम लिने काम बीमा कम्पनीको हो, सोही अनुसार सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ ।”
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (ICAN) का अध्यक्ष सी.ए. भाष्कर सिंह लालाले नियामक निकायहरुको आपसी समन्वय र साझेदारीबाट नै वित्तीय क्षेत्रका चुनौतीहरुलाई सम्बोधन गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा बीमाको दायरामा आउने जनसङ्ख्या, म्यादी, लघुम्यादी र वैदेशिक रोजगार बीमालेख समेत गरी, बढेर ४४.५५ प्रतिशत पुगेको जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक पौडेलले प्राधिकरणको निरन्तरको प्रयासका कारण बीमा दाबी भुक्तानीमा सुधार भई चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जीवन बीमातर्फ करिव रू. २१ अर्ब ७१ करोड र निर्जीवन बीमातर्फ करिव रू. १८ अर्ब २४ करोड गरी कूल रू. ३९ अर्ब ९५ करोड बीमा दाबी फछ्र्यौट भएको बताउनुभयो ।
समारोहमा विभिन्न मन्त्रालयका सचिव, सहसचिव, विभिन्न निकायका प्रमुख, नेपाल बीमा प्राधिकरणका निर्देशकहरु लगायत कर्मचारीहरु, जीवन बीमक सङ्घ र नेपाल बीमक सङ्का पदाधिकारी, जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा र लघुबीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, पेशागत बीमा अभिकर्ता सङ्घ र बीमा सर्भेयर सङ्घका पदाधिकारी, पुनर्बीमा ब्रोकरका प्रतिनिधि र संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।